NCF नेपालको नयाँ नेतृत्वका लागि पाष्टर किरण दास परियारको प्यानलद्वारा उम्मेदवारी घोषणा तथा एजेण्डा सार्वजनिक

काठमाडौं, १५ जेठ २०८३ । नेपाली इसाइ संगती नेपाल (NCF Nepal) को आसन्न महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि पाष्टर किरण दास परियारको नेतृत्वमा रहेको प्यानलले आफ्नो उम्मेदवारी घोषणा गरेको छ। मंगलबार (जेठ १५ गते) आयोजित एक पत्रकार सम्मेलनमार्फत उक्त समूहले आफ्ना उम्मेदवारहरूको परिचय गराउँदै चुनावी प्रतिबद्धता तथा एजेण्डाहरू सार्वजनिक गरेको हो।

विगत छ दशकभन्दा लामो इतिहास बोकेको, नेपालमा मिसन, मण्डली स्थापना र अगुवा उत्पादनमा ऐतिहासिक योगदान पुर्‍याएको NCF नेपालको महाधिवेशन यही जेठ १८ र १९ गते हुँदैछ। निर्वाचन समितिले अन्तिम नामावली प्रकाशन गरेलगत्तै यस प्यानलले पत्रकार सम्मेलन आयोजना गर्दै आफ्नो दाबेदारी प्रस्तुत गरेको हो।

को-को छन् प्यानलमा ?

अध्यक्ष पदमा पाष्टर किरण दास परियारले उम्मेदवारी दिएका छन्। त्यसैगरी, उपाध्यक्षमा विगतमा सचिवको भूमिका निर्वाह गरिसकेका पाष्टर शिवहरी भट्टराई र सचिव पदमा मधेस प्रदेशका पूर्वअध्यक्ष पाष्टर आशिष लामाले उम्मेदवारी दिएका छन्।

सदस्य पदहरूमा देशका विभिन्न भागबाट प्रतिनिधित्व हुनेगरी ६ जनाले उम्मेदवारी दिएका छन्। सदस्यका उम्मेदवारहरू र उनीहरूका मुख्य भनाइ यसप्रकार छन्:

  • पाष्टर इन्द्रबहादुर दाहाल (तिमोथी): ३५ वर्ष लामो सेवाकाईको अनुभव सँगालेका उनी मण्डलीमा नयाँ नेतृत्व र दर्शन ल्याउने उद्देश्यसहित अगाडि आएका छन्।
  • पाष्टर उदयराज भट्ट: बाइबलको ‘एफेसी ४:३’ ले भनेजस्तै शान्तिको एकताको बन्धनमा मण्डलीलाई बाँध्ने र NCF लाई रूपान्तरण गर्ने उनको प्रतिबद्धता छ।
  • पाष्टर राजकुमार घिमिरे: आफूहरूलाई नितान्त नयाँ (organic and untouched) प्रतिनिधिको रूपमा चिनाउँदै संस्थामा नयाँ काम गर्ने अठोट व्यक्त गरेका छन्।
  • पाष्टर जन्मजय भट्टराई (सुदूरपश्चिम): ख्रिष्टको खातिर आफू जेलसम्म पुगेको र सम्पूर्ण मण्डलीको प्रार्थनाले गत चैत ९ गते उक्त मुद्दाबाट मुक्त भएको स्मरण गर्दै, मण्डलीको सेवा गर्ने अवसर प्रदान गर्न उनले अपिल गरेका छन्।
  • पाष्टर पद्मप्रसाद सेराइ (मिलन): आउने पुस्तालाई नयाँ मार्गदर्शन दिन कटीबद्ध रहेको बताएका छन्।
  • पाष्टर महेश सिंह राऊना: लामो समयदेखि सेवामा समर्पित योग्य व्यक्तिको रूपमा उनी यस प्यानलमा सदस्यको उम्मेदवार रहेका छन्।

तीन सूत्रीय मुख्य एजेण्डा:

पत्रकार सम्मेलनमा बोल्दै अध्यक्षका उम्मेदवार पाष्टर परियारले विषम राजनीतिक र सामाजिक परिस्थितिमा नेपाली मण्डलीलाई सबल नेतृत्व प्रदान गर्न आफ्नो टिम अगाडि आएको बताए। उनले NCF नेपालको विकासका लागि तीनवटा मुख्य क्षेत्रमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे:

१. संस्थागत विकास र सुधार:

संस्थाको विधान आवश्यकता अनुसार संशोधन गरी समयसापेक्ष बनाइनेछ। प्रदेश र स्थानीय तहसम्म स्रोत र नेतृत्वको विस्तार, आर्थिक व्यवस्थापनमा पारदर्शिता, मितव्ययिता र जवाफदेहिता, आधुनिक कार्यालय व्यवस्थापन तथा सूचना प्रविधिको प्रयोगमा जोड दिइनेछ। साथै, अन्तर्राष्ट्रिय सङ्घ-संस्थाहरूसँगको सम्बन्धलाई थप बलियो बनाइनेछ।

२. मण्डली सशक्तिकरण र मिसन:

देशभरका मण्डलीहरूबीच एकता र आत्मिक जागरणको अभियान चलाइनेछ। मिसन तथा मण्डली आयोगको संरचना स्थापना गर्ने, मण्डलीको आवश्यकता अनुसार पैरवी गर्ने र मण्डली भवन निर्माणमा समानुपातिक व्यवस्थापन गरिनेछ। नयाँ पुस्ता र युवाहरूलाई लक्षित गरी बाइबलीय तथा ईश्वरीय शास्त्रीय तालिमका साथै सीपमूलक तालिमहरू सञ्चालन गरिनेछ। मण्डली व्यवस्थापनमा मिडियाको प्रभावकारी प्रयोग गरिनेछ।

३. राष्ट्रिय नेतृत्व र सामाजिक रूपान्तरण:

NCF नेपाललाई राष्ट्रिय स्रोत तथा सूचना केन्द्रको रूपमा विकास गरिनेछ। विपद् व्यवस्थापन, अन्तरधार्मिक समन्वय र राज्यका निकायमा क्रिश्चियन जनशक्तिको उपस्थिति बढाउन पहल गरिनेछ। बढ्दो युवा पलायन रोक्न र आत्मनिर्भरता बढाउन शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा सामाजिक सेवाद्वारा विकासका पहलहरू गरिनेछ।

अन्त्यमा, अध्यक्षका उम्मेदवार परियारले NCF नेपाल सम्पूर्ण मण्डलीहरूको ‘आत्मिक घर’ भएको बताउँदै आउँदो २०८३ जेष्ठ १८ र १९ गते हुने महाधिवेशनमा उपस्थित भई आफूहरूलाई अत्याधिक मतले विजयी गराउन देशभरका मण्डली र प्रतिनिधिहरूलाई निमन्त्रणा तथा हार्दिक अपिल गरेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

In this site, here is no any scam. Please remove Adblock. Thank you for understanding...