यस वर्षको ख्रीष्ट पुनरुत्थान दिवस भक्तपुरमा भव्यताका साथ सम्पन्न
भक्तपुर, नेपाल – काठमाडौं उपत्यकामा स्थापित विभिन्न चर्चहरूको सहकार्यमा यस वर्षको ख्रीष्ट पुनरुत्थान दिवस भक्तपुरमा हर्षोल्लासपूर्वक मनाइएको छ।
मानव जातिको पाप क्षमाको लागि आफ्नो जीवन बलिदान दिएका येशू प्रभु तीन दिनपछि जीवित भएको खुशियालीमा प्रत्येक वर्ष ख्रीष्टियन समुदायले मनाउने पुनरुत्थान दिवस (इस्टर सण्डे) यस वर्ष भक्तपुरमा विशेष रूपले आयोजना गरिएको हो।
आज बिहान काठमाडौं उपत्यकाका तीनवटै जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) बाट हजारौं इसाई धर्मावलम्बीहरू विभिन्न ¥याली सहित कार्यक्रम स्थलमा सहभागी भएका थिए। इस्टर महोत्सवमा सहभागीहरूले इस्टरको शुभकामना आदानप्रदान गर्नुका साथै पवित्र धर्मशास्त्र बाइबलबाट उत्साहजनक बचन श्रवण गरे र विभिन्न सांगितिक कार्यक्रमहरूको आनन्द लिए।
येशूले मानवजातिको पाप क्षमाको लागि आफ्नो रगत बगाउनुभएको कारणले मानिसलाई बचाउन रक्तदान गर्नुपर्छ भन्ने Christian मान्यतालाई आत्मसात गर्दै, आज पुनरुत्थान दिवस कार्यक्रममा सहभागीहरूले स्वैच्छिक रक्तदान समेत गरेका छन्। उपत्यकाव्यापी इस्टर महोत्सव आयोजक समितिका अनुसार आज ६०० भन्दा बढी व्यक्तिले रक्तदान गरेका छन्।
आज देशभर विभिन्न प्रार्थना सभा, भजन कीर्तन र सांस्कृतिक कार्यक्रमहरू आयोजना गरी ख्रीष्टियन धर्मावलम्बीहरूले पुनरुत्थान दिवस मनाएका छन्। येशूको सम्झनामा यस पवित्र दिवसमा रक्तदान गर्ने प्रचलन बढ्दो छ। यसका साथै, पुनरुत्थान दिवस ख्रीष्टमस पछिको दोस्रो ठूलो पर्वको रूपमा ख्रीष्टियन समुदायले श्रद्धा र उल्लासका साथ मनाउने गर्दछन्।

