केसब आचार्य माथी मात्रै अन्याय भएको होइन

Dr. BP Khanal

सर्वसाधारण जनतामाझ न्यायको प्रत्याभूति दिने पहिलो प्रशासनिक निकायका रूपमा चिन्नुपर्ने नेपाल प्रहरी आफैं अल्पसंख्यक धार्मिक समुदायप्रति पूर्वाग्रही बनेपछि ती समुदायका लागि देशमा न्यायको घाँटी निमोठिए समान हुन्छ ।

यस्तो अन्यायको पछिल्लो उदाहरण कास्की जिल्ला प्रहरी प्रमुखको सक्रियतामा पाष्टर केशवराज आचार्यलाई फँसाइएको घटना हो ।

उहाँलाई गिरफ्तार गर्दा निजले कोरोना भाइरस महामारीबारे अफवाह फैलाएकोले नियन्त्रणमा लिएको भनेर मिडिया तथा चासो राख्ने सबैलाई पोखरा जिप्रकाका एसएसपीले गलत सूचना दिएको प्रष्ट भएको छ ।

स्मरण रहोस, कोरोना भाइरसको विषयमा झूटो अफवाह फैलाएको भन्ने सामान्य कसूरमै गिरफ्तार गरिएका व्यक्तिको घर खानतलासी गरेकै कारण त्यो गिरफ्तारी सुनियोजित थियोे भनेर हामीले शुरूदेखि नै आपत्ति जनाउँदै आएका छौँ ।

हिरासतमा लिइएको व्यक्तिका विरुद्धमा प्रहरी आफैंले जाहेरी दिने, निजले डोल्पा जिल्लामा कहिल्यै नगरेको कथित ’धर्म परिवर्तन गराएको’ भन्ने अन्य अभियोजनका प्रमाणहरू जुटाउने जस्ता कर्तुतद्वारा आचार्यलाई थप मुद्दामा फँसाइएको छ ।

लकडाउनको अवधिलाई गलत उपयोग गरेर हिरासतको म्याद लम्ब्याउँदै आएको प्रशासनले आचार्य माथिको अफवाह सम्बन्धी मुद्दामा गिरफ्तारीको १७ औं दिनमा रु. ५, ००० जरिवाना तिराएर थुनामुक्त गर्ने भनिएको थियो, तर तोकिएको रकम बुझाएको लगत्तै बिना पक्राउ पुर्जी अदालत परिसरबाटै हिरासतमा राखेको पर्सिपल्ट मात्रै पुर्जी दिने प्रहरीले आचार्यलाई गैर न्यायिक थुनामा राखेको देखिन्छ ।

गिरफ्तारीको २२ औं दिनमा अदालतले रु. ५००, ००० (पाँच लाख) धरौटी लिई छाड्ने आदेश दिएकोमा सो रकम दाखिला गर्न नसकेको कारण पुर्पक्षका लागि पुन : हिरासतमा राखिएकोमा वैशाख ३१ गते मात्र सो रकम परिवार र नेपाल ख्रीष्टियन समाजको पहलमा बुझाएको लगत्तै डोल्पा जिल्ला अदालतको पक्राउ आदेश देखाएर अदालतबाटै कब्जामा लिई अहिले कास्की प्रहरीले आचार्यलाई डोल्पातिर चलान गरिसकेको खबर छ ।

बन्दी प्रत्यक्षीकरण र कानुनी उपचारको मौका नदिएर आफैं जाहेरवाला बन्ने र झुट्टा साक्षीहरू खडा गर्ने कास्की प्रहरीलाई पूर्वाग्रही र अन्यायी बाहेक अर्को नाउँ दिन सकिन्न ।

शदिऔं देखि आपसी सद्भाव, सहिष्णुता, शान्ति र सहअस्तित्वमा बाँचिरहेका बहुल धर्म, आस्था र अभ्यासका नेपालीहरूबीच विभेदपूर्ण व्यवहार देखाउने प्रशासनको यस अन्यायी दुष्कार्यका विरुद्ध सम्पूर्ण धार्मिक समुदायको ऐक्यबद्धता जरुरी देखिएको छ ।

कथित धार्मिक राष्ट्रवादका नाउँमा समाजमा अशान्ति मच्चाउने कुनै पनि हर्कतका विरुद्ध सबैले एकजुट भई विरोध गरौँ ।

साथै अहिले विश्व मानव समुदायले सामना गर्नुपरिरहेको कोभिड–१९ ले ल्याएको महामारी र नेपाल देशको सीमा मिचेर हाम्रो राष्ट्रिय अस्मिता माथि धावा बोल्ने दुष्ट तत्वका विरुद्ध संयमित र बुद्धिमानी ढंगले नेपाली मात्रको एकतामा सहभागी बनौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *